Ramailo

Author Topic: यसरी जन्मिए नक्कली डाक्टर  (Read 32 times)

Solti

  • Contributor
  • Boss
  • ***
  • Posts: 575
  • Reputation: +86/-0
  • Gender: Male
  • Ramailoforum Correspondent
    • Ramailo Forum
यसरी जन्मिए नक्कली डाक्टर

नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ‘क्वाक अपरेसन’ नाम दिएर थालेको यो कारबाही अहिले समाचार शीर्षकहरूमा छ । आईएस्सीको नक्कली प्रमाणपत्र बनाएर एमबिबिएस उत्तीर्ण गरी डाक्टर भन्दै बिरामी जाँच्ने काममा संलग्न भएको अभियोगमा उनीहरू पक्राउ परे । जतिसुकै जटिल विषय भए पनि आफ्ना छोराछोरीलाई डाक्टर बनाउने हुटहुटीमा धेरै अभिभावक जबर्जस्ती आईएस्सी पढाउँछन् । यसैको […]

नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले ‘क्वाक अपरेसन’ नाम दिएर थालेको यो कारबाही अहिले समाचार शीर्षकहरूमा छ । आईएस्सीको नक्कली प्रमाणपत्र बनाएर एमबिबिएस उत्तीर्ण गरी डाक्टर भन्दै बिरामी जाँच्ने काममा संलग्न भएको अभियोगमा उनीहरू पक्राउ परे । जतिसुकै जटिल विषय भए पनि आफ्ना छोराछोरीलाई डाक्टर बनाउने हुटहुटीमा धेरै अभिभावक जबर्जस्ती आईएस्सी पढाउँछन् । यसैको प्रतिफल हो नक्कली डाक्टर समातिएको पछिल्लो घटना, जसको पृष्ठभूमि उही आईएस्सी प्रमाणपत्रबाट सुरु हुन्छ ।


Amindra-mallaअहिले प्रहरी, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यामिक शिक्षा परिषद्को अनुसन्धानका क्रममा पक्राउ परेका एक दुई बाहेक सबैले बिहार इन्टरमिडियट काउन्सिलबाट जारी भएको शैक्षिक प्रमाणपत्र पेश गरेका छन् । सक्कली शैक्षिक प्रमाणपत्रमा उनीहरू फेल भएको, कम नम्बर ल्याएको र सम्बन्धित बोर्डमा अध्ययन नै नगरेको भेटिएको छ । आइएस्सीमा न्युनतम अङ्क नआएपछि त्यस्ता व्यक्तिले एमबिबिएस पढ्न नपाउने भए । अनि शुरु भयो झुटो प्रमाणपत्र बनाउने धन्दा । अनुसन्धानले यो पनि भन्छ कि- जुनसुकै बाटोबाट भए पनि डाक्टर बन्नैपर्ने मानसिक दबाब यतिसम्म पर्न गयो कि, ती विद्यार्थीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन स्वयं अभिभावकको आड पाएका रहेछन् ।


उसो भए पक्राउ परेकाहरुको एमबिबिएस लगायत अन्य तहको शैक्षिक प्रमाणपत्र ठीक छ त ? अन्य तहको शैक्षिक प्रमाण पत्रमाथि अनुसन्धान नगरेकाले त्यस विषयमा टुङ्गो लागिनसकेको संयुक्त अनुसन्धान टोली बताउँछ । प्रहरीका अनुसार हाल पक्राउ परेका केहीको मात्र एमबिबिएस र एसएसलीको शैक्षिक प्रमाणपत्र नक्कली छ । अनुसन्धान टोलीले हालसम्म बिहार इन्टरमिडियट काउन्सिलबाट जारी आईएस्सी प्रमाणपत्रमाथि मात्रै छानबिन गरिहेको बताएको छ । टोली अब भारत र नेपालका अन्य बोर्डबाट जारी शैक्षिक प्रमाणपत्र छानबिन गर्ने तयारीमा छ ।


हाल पक्राउ डाक्टरमध्ये भारतीय नागरिक जावेद अख्तर अन्सारीले अर्का डाक्टर महानन्द मिश्रको काउन्सिल दर्ता नम्बर प्रयोग गरेको भेटिएको छ । अन्सारीले भने काउन्सिलले नै आफूलाई उक्त नम्बर दिएको जिकिर गर्दै आएका छन् । उनलाई जिल्ला अदालत मोरङले ५० हजार धरौटीमा छाडिदिएको छ । ‘क्वाक अपरेसन’ अन्तर्गत समातिएका यी भारतीयले मिश्रको लाइसेन्स नम्बर दुरुपयोग गरेको काउन्सिलको दाबी छ ।


भारत लगायत सबै देशबाट ‘कामदार भिसा’ अन्तर्गत आउने डाक्टरले बिरामी जाँच्नुअघि स्वास्थ्य मन्त्रालय र काउन्सिलको स्वीकृति लिनु अनिवार्य छ । त्यसका लागि उनीहरूले काउन्सिलबाट लाइसेन्स नम्बर लिनुपर्छ । विदेशी नागरिकले पाउने लाइसेन्स नम्बर नेपालीको तुलनामा बढी संख्या भएको हुनेगर्छ । तर, हाल पक्राउ परेका डाक्टरले आफू सन् २००५ मा काउन्सिलमा विदेशी डाक्टरका रुपमा दर्ता भएको दाबी गरे पनि लाइसेन्स नवीकरण नगरी मिश्रकै नम्बर प्रयोग गरिरहेका थिए । विदेशी डाक्टरले एक पटक लाइसेन्स नम्बर लिएपछि प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ ।


नेपालमा काउन्सिलमा दर्तावाला डाक्टरको लाइसेन्स नम्बर दुरुपयोगको समस्या कत्तिको छ त ? अहिलेको ‘क्वाक अपरेसन’ ले यस विषयलाई गहनताका साथ नहेरे पनि अनधिकृत रुपमा डाक्टर नै नभएका व्यक्तिले अरुको काउन्सिल दर्ता नम्बर प्रयोग गरेर बिरामी जाँच्ने काममा संलग्न भएको विषय २०७१ फागुनमा खुलासा भएको थियो ।


खोज पत्रकारिता केन्द्र ले आठ महिनाको समय लगाएर गरेको अनुसन्धानले मुलुकमा क्वाकको बिगबिगी बढेको र उनीहरूको उपचारबाट बिरामीको ज्यान गएको भेटिएको थियो । हाल चलाइएको ‘अपरेसन क्वाक’ अभियान उक्त रिपोर्टकै सिलसिला भएको सिआईबीले बताएको छ । ३-९ फागुन २०७१ मा हिमाल खबर पत्रिकामा उक्त रिर्पोट प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं र रुपन्देही, नेपाल मेडिकल काउन्सिल र सिआईबीले अनुसन्धान थालेका थिए ।


तत्कालिन समयमा ग्राण्डी अस्पतालमा कार्यरत विजय श्याम रञ्जित आधिकारिकता खुलाई पठाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले ११ फागुन २०७१ मा नेपाल मेडिकल काउन्सिल र ग्रान्डी अस्पतालका नाममा पत्र पठायो । नेपाल चिकित्सक संघले पनि नम्बर दुरुपयोग गर्ने व्यक्तिमाथि कारबाही माग गरेको थियो । २०७१ मा अनुसन्धान शुरु गरे पनि सिआईबीले काउन्सिलका तत्कालीन पदाधिकारीबाट सहयोग नपाए पछि थप काम गर्न सकेन । तर, पछिल्लो समयमा काउन्सिलमा आएको नयाँ नेतृत्वले यस विषयमा चासो देखाउँदै अनुसन्धान अघि बढायो । जब काउन्सिलको लाइसेन्स परीक्षामा पहिलो पटक नक्कली परीक्षार्थी फेला परे, लहराले पहरा खसाल्न पुग्यो ।


अनुसन्धानमा के थियो ?


अनुसन्धानले तीन नेपाली र ६ विदेशी डाक्टर बिरामी जाँचमा अनधिकृत संलग्न भएको खुलासा गरेको थियो । तीमध्ये दुई नेपालीले काउन्सिलमा दर्तावाला डाक्टरको नम्बर प्रयोग गरेको र एक नेपालीसहित अन्य ६ विदेशी डाक्टर काउन्सिलमा बिनादर्ता खुलेआम बिरामी जाँच्न संलग्न भएको भेटिएको थियो । हाल काउन्सिलले यीमध्ये एक दिलीपकुमार यादवको लाइसेन्स खारेज गरेर चिकित्सा पेशा गर्न रोक लगाएको छ ।


Grande-starयस्तै, बाँकी ६ विदेशीमध्ये उत्तर कोरियाली अस्पतालमा डाक्टर बनेर काम गर्ने डा. काङ सिन्जु स्वदेश फर्किए । भारतीय डाक्टर सुप्रिथ मणिपाल काम गरिरहेकै अवस्थामा नर्भिक अस्पतालबाट काउन्सिल र प्रहरी टोलीबाट समातिए । यी बाहेक अमिन्द्र मल्लमाथि काउन्सिलले अनुसन्धान अघि बढाइरहेकै बेला उनी आफैं सञ्चालक बनेर चलाइरहेको फर्साटिकर हेल्थ केयर सेन्टर अस्पताल बन्द गरे । यसरी अनधिकृत रुपमा बिरामी जाँच्ने काममा संलग्नता भेटिएपछि चिकित्सा पेशामाथि धेरैले शंका व्यक्त गरेका थिए । अझ ती मध्येका कतिपय क्वाकलाई त विभिन्न संस्थाले उत्कृष्ट भन्दै सम्मानित गरेका थिए ।


डा. लक्ष्मी केसीको १०८५५ नम्बर प्रयोग गरी बिएन्डबी, कान्ति, आँखा अस्पताल, प्रसुतिगृह थापाथली र मानसिक अस्पताल ललितपुर काम गर्थे विजयश्याम रञ्जित । तत्कालीन समयमा गणेशमान सिंह मेमोरियल अस्पताल ललितपुर (पहिलेको शुभतारा अस्पताल), ह्याम्स अस्पताल बानेश्वर र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा बिरामी जाँच्ने काम गर्थे उनी । यसै क्रममा उनलाई ग्रान्डीले ‘स्टार अफ् दि मन्थ’ को उपाधि दिलायो । (हे.तस्बिर)


काठमाडौंस्थित क्याम्पियन कलेजबाट आइएस्सी उत्तीर्ण उनले चीनको थ्री गर्जेज विश्वविद्यालयबाट एबिबिएस पूरा गरे । चीन जानका लागि उनले त्यस बेला बागबजारमा रहेको एक मेडिकल सेन्टरको सहयोग लिएका थिए । उनले भने, “मेरो बुबाका साथी कृष्ण अधिकारीले बागबजारमा खोलेको कन्सल्टेन्सीमार्फत् म चीन गएको हुँ ।” अधिकारी काउन्सिलका तत्कालीन सदस्य तथा प्रवक्ता हुन् । उनीमाथि नेपाली विद्यार्थीलाई कन्सल्टेन्सीमार्फत् चीन पठाउने काममा संलग्न भएको आरोप लाग्दै आएको छ ।


यस्तै, नर्भिक अस्पतालमा कार्यरत सुप्रिथ मणिपाललाई एकेडेमी अफ डेन्टिस्ट्री इन्टरनेसनल फाउन्डेसनले फेलोसिप प्रदान गरेको थियो । नेपालभित्र चिकित्सा पेशा गर्न अनुमति नपाएका व्यक्ति सम्मानित हुने औपचारिक कार्यक्रममा मेडिकल काउन्सिलका पूर्व अध्यक्ष डा. दामोदर गजुरेलसहित अन्य डाक्टरहरूसँग फोटो समेत खिचाएका छन् ।


यसरी काउन्सिलको फितलो संयन्त्रका कारण नम्बर दुरुपयोग गर्ने काममा क्वाकले सहज वातावरण पाएको देखिन्छ । त्यसो त काउन्सिलको दर्ता प्रक्रियामा नै कतिपयले प्रश्न उठाउने गरेका छन् । काउन्सिलले हाल मुलुकमा कार्यरत डाक्टरको संख्या यकिन नगर्दा पनि समस्या निम्तिएको छ । डाक्टरको विवरणसम्बन्धी जानकारी राख्न आवश्यक पर्ने रि-रजिस्टे«सन सम्बन्धी व्यवस्थालाई काउन्सिलको तत्कालीन नेतृत्वले तुहाएको काउन्सिल पूर्व सदस्य डा. सुशील कोइराला बताउँछन् । उनले भने, ‘कुन डाक्टर आफ्नो पेशामा क्रियाशील छ÷छैन भन्ने रेकर्ड राख्नका लागि आवाज उठाएँ । तर कसैले सुनेनन् ।’


रि-रजिष्ट्रेसन गर्ने व्यवस्था नभएसम्म मुलुकमा कति डाक्टर कार्यरत छन् भन्ने विवरण आउन सक्दैन । डा. रमेशकान्त अधिकारीको संयोजकत्वमा त्यो बेला रि-रजिस्ट्रेसन गर्ने समिति पनि बनेको थियो । तर काउन्सिलका तत्कालीन पदाधिकारीले उक्त विषयलाई प्राथमिकतामा राखेनन् । डा. कोइराला भन्छन्, ‘यो काम गर्न कतैबाट पनि सहयोग भएन ।’ दर्तावाला डाक्टरको नम्बरको सुरक्षा गर्न नसकेको काउन्सिलको दर्तासम्बन्धी विवरणको अभिलेख समेत अपुरो छ ।


अपुरो अभिलेख


काउन्सिलको सन् २०१३ जुलाईसम्मको अभिलेख पुस्तिकामा २ सय ७४ वटा लाइसेन्स नम्बरका आधिकारिक व्यक्तिको नाम खुलाइएको छैन । अपुरो अभिलेखका कारण नम्बर दुरुपयोग गर्नेहरूलाई सहजता निम्तिएको कतिपयको बुझाई छ ।


काउन्सिलले आफ्नो अभिलेखमा डाक्टरको नामबिना राखेको लाइसेन्स नम्बरहरूको विवरण –

Amindra-malla-1११, १३, १५, १८, २३, २६, ३३, ३४, ३६, ३७, ४०, ४१, ४३, ४८, ४९, ५१, ५२, ५३, ५४,५७, ६०, ६१,६२, ६६,६८, ६९, ७०, ७५, ७७, ७८, ८१, ८२, ८३, ८५, ८६, ८६, ८८, ८९, ९०, ९१, ९२, ९४, ९५, १०१, १०४, १०५, १०६, १०९, ११०,१११, ११५, ११८, १२०, १२४, १२५, १२९, १३६, १३७, १३८, १४१, १४७, १४८, १५२, १५५, १६०, १७६, १८१, १८२, १८५, १८६, १९२, १९३, १९४, १९८, १९९, २०९, २१०, २११, २१७, २२०, २२३, २२७, २३०, २३२, २३३, २३४, २३५, २३६, २३७, २३८, २३९, २४०, २४१, २४२, २४३, २४४, २४५, २४६, २४७, २४८, २४९, २५०, २५१, २५२, २५३, २५४, २५५, २५६, २५८, २५९, २६०, २६१, २६३, २६४, २६५, २६६, २६७, २६८, २७०, २७१, २७२, २७३, २७४, २७५, २७७, २७९, २८०, २८२, २८३, २८४, २८५, २८७, २८९, २९०, २९१, २९२, २९३, २९४, २९५, २९८, २९९, ३००, ३०२, ३०४, ३२४, ३२५, ३२७, ३३५, ३४२, ३५०, ३६४, ३७०, ३७१, ३७५, ३७७, ३७८, ३८१, २८३, ३८४, ३९१, ३९५, ३९६, ४००, ४०१, ४२५, ४२९, ४३०, ४३१, ४३२, ४३३, ४३४, ४३५, ४३६, ४३८, ४४०, ४४१, ४४२, ४५०, ४५१, ४५२, ४५३, ४५५, ४५६, ४५७, ४५९, ४६३, ४६४, ४६८, ४७०, ४७५, ४८०, ५२५, ५६३, ६५१, ६५२, ६६८, ६७४, ६९४, ७११, ७५५, ७५६, ७५७, ७५८, ७५९, ७६०, ७६२, ७८९, ७९३, ७९४, ७९८, ७९९, ८२३, ८३४, ८६०, ९१०, ९१३, ९२७, ९३३, ९३४, ९३६, ९३७, ९३८, ९५२, ९५३, ९५४, ९५५, ९८०, ९८२, ९८६, १०१८, १०२०, १०२१, १०३०, १०३१, १०३७, १०४५, १०६६, १०६८, १०७०, १०७१, १०७३, १०७४, १०७९, १०८६,१०९०, १०९१, १०९२, १०९३, १०९४, ११०७, ११०८, ११२७, ११२८, ११३०, ११७३, ११७४, ११८६, ११८७, ११९१, ११९२, ११९३, १२०३, १२१८, १२३१, १२४१, १२४८, १२६३, १२७०, १२८९, १३०४, १३३६, १३४६, १३७७, १३९७, १४०४, १४०५, १४०६, १४०७, १४०९, १४२९, १६७६, २७५२, २९०४, २९०५ ।


३१ जेठ २०७३ सम्मको तथ्याङ्क अनुसार काउन्सिलमा दर्तावाला डाक्टरको संख्या १७ हजार ९ सय ९२ पुगेको छ । यस्तै ५ असार २०७३ सम्म ५ हजार ७ सय ४१ विदेशी डाक्टर काउन्सिलमा दर्ता छन् । काउन्सिलमा दर्ता भएका डाक्टरले आफ्नो लाइसेन्स नम्बरका आधारमा बिरामी जाँच्न पाउँछन् । अन्यथा उनीहरू अनधिकृत ठहरिन्छन् । तर दर्ता भएका मध्ये कतिको मृत्यु र कति विदेशमा कार्यरत छन् भन्ने जानकारी नराख्दा नम्बर दुरुपयोगको समस्या बढिरहेको छ ।


नेपालमा डाक्टरी इतिहास


डा.सीताराम अधिकारीद्वारा लिखित ‘चिकित्सा शिक्षामा फड्को’ मा उल्लेख भए अनुसार, नेपालमा एलोपेथिक चिकित्सा पद्धतिको शुरुवात जंगबहादुर राणाको पालाबाट सुरु भएको हो । उनका पालामा काठमाडौँस्थित ब्रिटिस रेसिडेन्समा एक मात्रै डाक्टर रहन्थे । उनले जंगबहादुर र उनको परिवारका सदस्यको उपचार गरेका र बिरामीलाई स्वास्थ्य लाभ भएको विवरण पढ्न पाइन्छ ।


नेपालमा एलोपेथिक चिकित्सा पद्धतिको संस्थागत विकास तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेरले सन् १८८९ मा काठमाडौँको रानीपोखरीनजिक ३० शय्याको पृथ्वी-वीर अस्पतालको स्थापना गरेपछि भयो । नेपालको सबभन्दा जेठो यही अस्पताल अचेल वीर अस्पताल नामले चिनिन्छ । त्यसपछि मुलुकमा अस्पतालहरू धमाधम स्थापना हुँदै गए । यसरी राणाशासनको अवधिभित्र मुलुकमा ३३ सरकारी अस्पताल र केही स्थानमा स्वास्थ्य केन्द्र स्थापना गरिएका थिए ।


नेपालमा डाक्टरी पढ्न शैक्षिक संस्था नभएको समयमा नेपाली डाक्टरले उपाधि हासिल गर्न भारत गई अध्ययन गर्नुपथ्र्यो । त्यसरी अध्ययन गरी शुरुशुरुमा डाक्टर बनेका नेपालीहरूमा डा. रत्नदास वैद्य (प्रथम नेपाली डाक्टर, सन् १९०२), डा. देवीप्रसाद उपाध्याय (सन् १९१८) डा. गणेशलाल मास्के (सन् १९१८), डा.सिद्धिमणि आ.दी. (सन् १९२१) र डा.यज्ञमान वैद्यको नाम लिइन्छ । तर काउन्सिलको दर्ता किताबमा भने नेपाल मेडिकल काउन्सिल लाइसेन्स नम्बर १ भएका डाक्टर हुन् जिष्णुप्रसाद रिजाल ।


त्यसबेला भारतबाहेकका अन्य मुलुकहरूमा चिकित्सा शास्त्रको उच्च अध्ययन गर्न जान सम्भव थिएन, तथापी राणाकालीन अन्तिम प्रधानमन्त्री मोहनशमशेरका पालामा डा. दिनेशानन्द वैद्यलाई प्याथोलोजीमा, डा. रघुवर वैद्यलाई रेडियोलोजीमा र डा. यज्ञराज जोशीलाई क्षयरोग विषयमा डिप्लोमा तहको अध्ययन गर्नका लागि बेलायत पठाइएको थियो ।


सन् ६० को दशकको प्रारम्भमा मात्रै नेपालमा मेडिकल कलेजको स्थापना गरी मुलुकभित्रै डाक्टर उत्पादन गर्ने सोच आएको थियो, तर त्यस सोचलाई मूर्त रुप दिन अर्को पन्ध्र वर्ष (सन् १९६८) लाग्यो । तर त्यस समयमा डाक्टर र विशेषज्ञ जस्ता उच्चस्तरका जनशक्ति मुलुकभित्रै उत्पादन गर्ने योजना तत्कालका लागि स्थगित हुन पुग्यो । जसको विकल्पमा स्टाफ नर्स, अनमी, अहेव, हेल्थ असिस्टेन्ट, सिएमए जस्ता मध्यम तथा निम्न स्तरका स्वास्थ्यकर्मी उत्पादन गर्ने नीति बन्यो । उच्च स्तरका डाक्टर र विशेषज्ञहरूको आपूर्ति गर्नका लागि मित्र राष्ट्रहरूको सहयोगमा नेपाली विद्यार्थीलाई विदेशमा पढ्न जाने प्रबन्ध मिलाइयो ।


सन् १९७२ मा त्रि.वि.अन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को स्थापनापछि सरकारी क्षेत्रमा सञ्चालित सबै शैक्षिक कार्यक्रम त्यसै संस्थानलाई हस्तान्तरण गरियो । करिब ६ वर्षसम्म त्यस्ता कार्यक्रमहरूको अनुभव बटुलेपछि त्यस संस्थानले सन् १९७८ देखि एमबिबिएस कार्यक्रम सुरु गर्यो । पहिलो ब्याचमा २२ विद्यार्थी भर्ना भएर नेपालमा एमबिबिएस तहको अध्ययन थालियो । सन् १९८२ मा क्यानडास्थित कालग्यारी विश्वविद्यालयको सहकार्यमा आइओमले जनरल प्राक्टिस (मेडिसिन, एमडिजिपी उपाधि प्रदान गर्ने गरी पोस्ट ग्र्याजुएट मेडिकल शिक्षा थाल्यो । सन् १९९४ देखि भने त्रिविले उपाधि प्रदान गर्ने गरी स्वास्थ्य मन्त्रालय र काठमाडौँ उपत्यकाभित्रका प्रमुख अस्पतालको सहकार्यमा विविध विषयहरूमा एम.डि÷एम.एस तहको अध्यापन कार्य शुरु भयो ।


सन् नब्बेको दशकमा प्रकाशित विभिन्न प्रतिवेदनहरू अध्ययन गर्दा दक्षिण एसियाका अन्य मुलुकको अनुपातमा नेपालमा डाक्टरको संख्या अत्यन्तै न्यून थियो । त्यस समयमा एक डाक्टर बराबर १८ हजार ८ सय ६८ जनसंख्या पर्न आउँथ्यो । त्यो अवधि भारतमा एक डाक्टर बराबर ५ हजार २ सय ९० जनसंख्या पर्न आउँथ्यो । तुलना गर्ने हो भने नेपालमा भन्दा भारतमा डाक्टर संख्या बढी देखिन्छ । डाक्टर र जनसंख्याको अनुपातमा औसत एक डाक्टरले १६ हजारदेखि २४ हजार जनालाई स्वास्थ्य सेवा पुर्याउनुपरेको थियो ।


सन् १९८४ मा नेपालको इतिहासमा मुलुकभित्रकै पहिलो ब्याचका डाक्टर उत्पादन भए । त्यसपछि सन् १९९६ सम्ममा कूल ३ सय ३१ डाक्टर उत्पादन भए । चिकित्साशास्त्र अध्ययन संस्थानले सन् १९९७ मा प्रकाशित गरेको तथ्याङ्क अनुसार प्रत्येक वर्ष औसत २७ डाक्टर उत्पादन भएका थिए । नेपाली विद्यार्थीहरू निजी खर्चमा भारत, चीन, बंगलादेश, पाकिस्तान, रुस, फिलिपिन्सजस्ता मुलुकहरूमा गई डाक्टरी पढेर फर्केका थिए ।


सन् २००१ मा नेपाल मेडिकल एसोसिएसनको स्वर्णजयन्तीमा प्रकाशित पुस्तकका अनुसार त्यस बखत एसोसिएसनमा २ हजार २ सय २५ सदस्य थिए । तीमध्ये केही डाक्टर विदेशमा बस्ने हुनाले तिनीहरूको सेवा मुलुकले पाउँदैनथ्यो ।


नोटः खोज पत्रकारिता केन्द्रमा प्रकाशित रामु सापकोटाको ब्लग खोपकेको अनुमतिमा प्रकाशित गरिएको हो । खोपकेले गरेको खोजले मुलुकका अस्पताल र स्वास्थ्य संस्थामा अयोग्य डाक्टरहरु (क्वाक) ले बिरामी जाच्ने नाममा अपराध गरिरहेको खुलासा गरेको थियो ।


Source: यसरी जन्मिए नक्कली डाक्टर
Get the Latest News and Information at Ramailoforum.com

Ramailo Forum